सानै उमेरमा रोबोट बनाउँदै विद्यार्थी: नेरिक एकेडेमीमा रोचक साइन्स–रोबोटिक प्रदर्शनी

Category
News
Published Date
March 16, 2026
सानै उमेरमा रोबोट बनाउँदै विद्यार्थी: नेरिक एकेडेमीमा रोचक साइन्स–रोबोटिक प्रदर्शनी
Share

काठमाडौंको शंखमूलस्थित नेरिक एकेडेमीमा “साइन्स एण्ड रोबोटिक एक्जिबिशन–२०८२” सफलतापूर्वक सम्पन्न भएको छ। विज्ञान तथा रोबोटिक शिक्षामार्फत सिकाइलाई अझ प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रदर्शनीमा विद्यार्थीहरूले पाठ्यपुस्तकमा सिकेका विषयवस्तुलाई व्यवहारिक रूपमा प्रस्तुत गरेका थिए। विशेषगरी विज्ञान तथा रोबोटसँग सम्बन्धित विभिन्न सामग्रीहरू प्रदर्शनमा राखिएका थिए। विद्यालयका अनुसार विद्यार्थीहरूले स्थानीय सामग्री र रोबोटिक उपकरण प्रयोग गरी विभिन्न वैज्ञानिक मोडेल तथा कलात्मक चित्रहरू तयार पारेका थिए, जसले आगन्तुकहरूको ध्यान आकर्षित गरेको थियो।

प्रदर्शनी अवलोकन गर्न पुगेका अभिभावक अनुजमान बज्राचार्यले विद्यालयले आयोजना गर्ने यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको सर्वांगीण विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उनले विभिन्न अवसरमा यस्ता गतिविधि आयोजना गर्दा विद्यार्थीको आत्मविश्वास, शारीरिक क्षमता र अनुशासन विकासमा सकारात्मक प्रभाव पर्ने उल्लेख गरे।

कार्यक्रममा विद्यार्थीहरूको रोबोटिक शिक्षाका लागि टेक्नोबोट एजुकेशन एण्ड रिसर्च सेन्टरले सहयोग गरेको थियो। संस्थाका निर्देशक प्रशान्त ठाकुरले भविष्यको प्रविधिमुखी संसारमा रोबोटिक र विज्ञान शिक्षाको महत्व झनै बढ्दै जाने बताए। उनले अहिलेबाटै विद्यार्थीहरूको सिकाइलाई व्यवहारिक र प्रविधिमैत्री बनाउँदै लगेमा भविष्यमा सक्षम जनशक्ति उत्पादन गर्न सकिने विश्वास व्यक्त गरे।

विद्यालयका प्रिन्सिपल मिलन केसीका अनुसार प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका करिब २० वटा स्टल राखिएको थियो। उनले यस्ता कार्यक्रमले पाठ्यपुस्तकमा रहेको ज्ञानलाई प्रयोगात्मक सिकाइसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै यसले विद्यार्थीहरूको सिर्जनशीलता विकास गर्ने, अरूको कामबाट प्रेरणा लिन सहयोग गर्ने तथा कक्षामा सिकेका कुरालाई अझ सहज रूपमा बुझ्न मद्दत गर्ने विश्वास व्यक्त गरे।

प्रदर्शनी स्थलमा विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। आगन्तुकहरूले विभिन्न स्टलहरू अवलोकन गर्दै विद्यार्थीहरूले तयार पारेका वैज्ञानिक मोडेल र रोबोटिक परियोजनाबारे जानकारी लिएका थिए।

Footer Image

Are you ready to take the next step?